समाचार

वर्तमान सरकारप्रति जनताको असन्तुष्टि बढ्दो छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको दाबी गरेका छन्। सरकारको कार्यशैलीप्रति जनअसन्तुष्टि बढ्दै गएको भन्दै उनले यसको असर सरकारको आयुमा समेत पर्ने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले राजनीतिक वृत्त, बुद्धिजीवी र कूटनीतिज्ञबीच समेत सरकार धेरै समय टिक्न नसक्ने चर्चा चलिरहेको बताए। कतिपयले त दशैँ–तिहारअघि नै सरकार परिवर्तन हुन सक्ने अनुमान गरिरहेको उल्लेख गर्दै उनले त्यसको यथार्थ आगामी दिनले स्पष्ट पार्ने बताए।

देशको आर्थिक अवस्था कमजोर बन्दै गएको, विदेशी ऋण बढेको, उत्पादन घटेको तथा सुकुम्बासी, मिटरब्याज र लघुवित्त पीडितका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप पनि उनले लगाए। यी समस्या समाधान नभए नयाँ आन्दोलन सुरु गर्ने चेतावनी उनले दिए।

महासचिव विप्लवले संसदीय कम्युनिस्ट आन्दोलनले अपेक्षित परिणाम दिन नसकेको दाबी गर्दै अब कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले कम्युनिस्ट शक्तिहरूबीचको एकता मात्र पर्याप्त नभई जनताका साझा मुद्दालाई केन्द्रमा राखेर व्यापक आन्दोलन निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।

साथै, मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि प्रमुख राजनीतिक शक्तिहरूबीच गम्भीर संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।