काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अस्वाभाविक माग बढेका कारण उपभोक्ताको आवश्यकता अनुसार आपूर्ति गर्न कठिन भइरहेको जनाएको छ।
बुधबार राष्ट्रिय सभाअन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निमित्त कार्यकारी निर्देशक दीपक बरालले ग्यास आयात बढे पनि उपभोक्ताको अस्वाभाविक मागका कारण बजार व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए।
उनका अनुसार एउटा सिलिन्डरमा ग्यास बाँकी हुँदाहुँदै अर्को सिलिन्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिले वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएका छन्। उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन्।
बरालले निगमले भारतीय आयल कर्पोरेसनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरे पनि तत्काल त्यति परिमाणमा उपलब्ध गराउन नसकिने जानकारी प्राप्त भएको बताए। यसअघि नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो।
दसैँ–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले सरकारले मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके चाडपर्वअघि बजारको माग सहज रूपमा व्यवस्थापन गर्न सकिने बताए।
उनले हाल देखिएको ग्यास अभावको समस्या आगामी दुई साताभित्र समाधान हुने विश्वाससमेत व्यक्त गरे।