समाचार

देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी छ कि छैन भन्नेबारे प्रहरीको अनुसन्धान

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै मुद्दा वा पक्राउ पुर्जी रहेको विषयमा नेपाल प्रहरीले रेकर्ड अध्ययन गरिरहेको जनाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा अभिलेख हेरिरहेको जानकारी दिए।

सञ्चारकर्मीले देउवा नेपाल फर्किएपछि पक्राउ वा अनुसन्धानको दायरामा ल्याउने कुनै आधार छ कि छैन भन्ने प्रश्नमा काफ्लेले, “हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ। के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ,” भने।

यसअघि नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री देउवा साउन २६ गते नेपाल फर्किने जानकारी दिएका थिए। देउवा केही समयदेखि विदेशमा रहेका छन्।