काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानमा सुधारका सकारात्मक संकेत देखिन थालेको बताएका छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहले इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’का कारण राष्ट्रिय उद्योगहरूलाई पुनः सञ्चालन र प्रतिस्पर्धी बनाउन सकिने बताएका हुन्।
उनका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको शाहले बताएका छन्।
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको तथा सीट उपयोगिता ८६ प्रतिशत पुगेको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, डीडीसीको किसान भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको, दैनिक बिक्री ३५ प्रतिशतले बढेको र दैनिक औसत राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको शाहको भनाइ छ।
सिंहदरबार वैद्यखानाले पनि सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्।








Add Comment