काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस, नेकपा एमाले र नेकपा मिलेर सातै प्रदेशमा संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सरकारको अवस्थाबारे जानकारी दिँदै थापाले यस्तो बताएका हुन्।
उनका अनुसार कांग्रेस र एमालेबीच यसअघि भएको सहमतिअनुसार निश्चित समयपछि कांग्रेस नेतृत्वमा रहेका प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेका प्रदेशमा कांग्रेसले नेतृत्व गर्ने विषयमा छलफल भएको थियो। तर, त्यस क्रममा तीन दल सहभागी संयुक्त सरकार बनाउने प्रस्तावसमेत आएको उनले बताए।
थापाले भने, ‘प्रदेशमा प्रतिपक्ष नै नराखी तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठीक हुँदैन।’ यस्तो अभ्यासले लोकतान्त्रिक प्रणाली, संघीयता र स्वयं राजनीतिक दलहरूको भूमिकामाथि प्रश्न उठ्ने भएकाले कांग्रेसले प्रस्ताव स्वीकार नगरेको उनको भनाइ छ।
उनले प्रदेश सरकारमा सत्तापक्षसँगै बलियो प्रतिपक्षको भूमिका पनि आवश्यक हुने बताए। संघीय सरकार तथा प्रदेशमा प्रतिपक्षको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीभित्र थप छलफल आवश्यक रहेको थापाले उल्लेख गरे।








Add Comment