समाचार

राजदूतहरूसँगको भेटमा बालेनको नयाँ कूटनीतिक सक्रियता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गर्ने भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले यसअघि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। तर व्यक्तिगत रूपमा भेट्ने विषयमा भने उनले लामो समयदेखि रुचि देखाएका थिएनन्। अब भने सोमबारदेखि विभिन्न देशका राजदूतसँग क्रमशः भेटवार्ता गर्ने तयारी गरिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्नेछन्। त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङ तथा अमेरिका लगायत अन्य देशका राजदूतसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसअघि प्रधानमन्त्री शाहलाई भेट्न विभिन्न देशका राजदूतहरूले समय माग गरे पनि उनले चैत २५ गते एकैपटक सबै राजदूत तथा नियोग प्रमुखसँग सामूहिक छलफल गरेका थिए। त्यस क्रममा नेपालको विदेश नीति र सरकारका प्राथमिकताबारे जानकारी गराइएको थियो।

पछि उनले नेपालस्थित युरोपेली संघ आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग पनि सामूहिक भेटवार्ता गरेका थिए। व्यक्तिगत भेटवार्ताका लागि भने राजदूतहरूले निरन्तर प्रयास गरे पनि समय पाउन सकेका थिएनन्।

प्रधानमन्त्रीको कूटनीतिक भेटघाट सीमित भएको विषयमा विभिन्न तहबाट सुझाव आएपछि पछिल्लो समय सरकारभित्र पनि यस विषयमा सक्रियता बढेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले पनि अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सक्रिय बनाउन विभिन्न देशसँग भेटवार्ता र भ्रमण गर्दै आएका छन्।

प्रधानमन्त्री शाहलाई भारत र चीनबाट विदेश भ्रमणको निम्तोसमेत प्राप्त भएको बताइएको छ। यद्यपि उनले तत्काल विदेश भ्रमण गर्नेबारे निर्णय गरिसकेका छैनन्।

अब सुरु हुन लागेको राजदूतहरूसँगको व्यक्तिगत भेटवार्तालाई सरकारले नेपालको कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउने प्रयासका रूपमा लिएको छ। यी भेटवार्तापछि प्रधानमन्त्रीको सम्भावित विदेश भ्रमणका लागि समेत वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ।