काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रानाले नागरिकलाई यातना दिने अर्थ लाग्ने यस्ता शब्द लोकतन्त्र र मानव अधिकारको मर्मविपरीत रहेको बताइन्।
उनले आफू लामो समयदेखि बालबालिका तथा कैदीबन्दीको अधिकारका लागि काम गर्दै आएको स्मरण गराउँदै मानिसमाथि शारीरिक यातना र कोर्रा लगाउनेजस्ता कार्यविरुद्ध कानुनी व्यवस्था बनाउन आफूले समेत आवाज उठाउँदै आएको बताइन्।
वर्षौँको प्रयासपछि नेपालमा शारीरिक यातनालाई निषेध गर्ने कानुनी व्यवस्था बनेको अवस्थामा संसद्को गरिमामय सदनमै ‘कोर्रा’ जस्तो शब्द प्रयोग हुनु दुःखद भएको उनको भनाइ थियो।
रानाले अपराध गर्ने व्यक्ति जोसुकै भए पनि वा परिस्थिति जस्तोसुकै भए पनि नागरिकलाई कोर्रा हान्ने अभिव्यक्ति दिनु उचित नहुने बताइन्। उनले संसद्मा प्रयोग भएका यस्ता शब्दले लोकतान्त्रिक संस्कार र मानव अधिकारको सम्मान नगर्ने सन्देश जाने भएकाले अभिव्यक्तिमा संयमता अपनाउनुपर्नेमा जोड दिइन्।
उनले सांसद राईले सार्वजनिक रूपमा वा संसद्मा प्रसंगवश प्रयोग गरेको ‘कोर्रा हान्ने’ लगायतका शब्द संसद्को आधिकारिक अभिलेखबाट हटाउन सभामुखसँग आग्रहसमेत गरिन्।
यसअघि सांसद राईले गलत काम गर्ने व्यक्तिलाई ‘कोर्रा हान्नुपर्ने’ धारणा व्यक्त गरेका थिए।








Add Comment