भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले आफ्ना विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन्।
सानोठिमीस्थित सीटीईभीटी कार्यालय परिसरमा कर्मचारीहरूले धर्ना दिँदै आन्दोलनलाई निरन्तरता दिएका हुन्। सोमबारदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारीमा कार्यरत श्रमिकको रोजगारी सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले हाल कायम रहेको दुई महिने सेवा निरन्तरताको व्यवस्था हटाएर कम्तीमा एक वर्षका लागि सेवा निरन्तरता दिनुपर्ने लगायत ९ बुँदे माग अघि सारेका छन्।
आन्दोलनरत कर्मचारी र सीटीईभीटी प्रशासनबीच आज वार्ता भए पनि माग सम्बोधन गर्ने विषयमा सहमति हुन नसकेपछि आन्दोलनलाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिका सह–संयोजक युकेश गौतमले जानकारी दिए।
कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।








Add Comment