समाचार

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक, एम्बुलेन्समा कर छुटदेखि एनसेल प्रतिवेदनसम्म

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकबाट भएका पाँच प्रमुख निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्का निर्णयअनुसार नेपालमा पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरिएको छ।

यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय भएको छ। शहीद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन्।

सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय पनि गरेको छ।

यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।