समाचार

सुनसरी–सिराहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

सुनसरीमा भएको प्रदर्शनका क्रममा तीन जनाको ज्यान गएको थियो। उक्त घटनापछि सुरक्षाकर्मीको बल प्रयोगलाई लिएर प्रश्न उठ्नुका साथै घटनाको छानबिन र दोषीमाथि कारबाहीको मागसमेत भएको थियो।

त्यसैगरी, सुनसरी घटनासँग जोडिएको विरोध प्रदर्शनका क्रममा सिराहामा भएको घटनामा गणेश कुमार यादवको मृत्यु भएको थियो।

सरकारको पछिल्लो निर्णयसँगै प्रदर्शनका क्रममा मृत्यु भएका चारै जनालाई औपचारिक रूपमा शहीदको मान्यता दिने बाटो खुलेको छ।