समाचार

आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

काठमाडौँ । संघीय संसद्का आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा वित्तीय संघीयता, कैदीबन्दीको मानव अधिकार, सामाजिक संस्थाको अवस्था, विधि विज्ञान प्रयोगशाला तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका तथा आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल गर्नेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकारसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिले बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाको अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षमाथि छलफल गर्नेछ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्ने कार्यक्रम छ।

सार्वजनिक लेखा समितिले गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गर्नेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले विगतका कोप सम्मेलनका निर्णय तथा सम्झौताको कार्यान्वयन अवस्थाबारे जानकारी लिनेछ। साथै, आगामी कोप–३१ मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सम्बन्धित सरकारी अधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ।