समाचार

पत्रकार किशोर श्रेष्ठ पक्राउ, सांसदसँग सम्बन्धित तस्बिर सार्वजनिक गरेको आरोप

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। केही दिनअघि सांसदसँग सम्बन्धित एक युवतीको तस्बिर सार्वजनिक गरेको विषयमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको जनाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सप्तरी–३ का सांसद अमरकान्त चौधरीले दिएको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो।

श्रेष्ठले केही दिनअघि सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए। उक्त तस्बिर सार्वजनिक भएपछि चौधरीको उजुरी परेको र सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।