काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आजदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा पार्टीको वर्तमान अवस्था, आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने भएको छ।
भेलाको उद्घाटन बिहान साढे ११ बजे हुने कार्यक्रम छ। कार्यक्रममा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै उद्घाटन गर्नेछन्। भेला साउन २९ देखि ३१ गतेसम्म तीन दिन सञ्चालन हुने बताइएको छ।
देउवा बिहीबार मात्रै लामो समयपछि हङकङबाट नेपाल फर्किएका हुन्। स्वदेश फर्किएपछि उनलाई काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा लगिएको थियो। त्यहाँ देउवाका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ। उक्त कार्यालयबाट उनले पार्टीका नेताहरूसँग भेटघाट तथा छलफलसमेत गरेका छन्।
संस्थापन इतर पक्षले यसअघि सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ। प्रदेशस्तरका छलफलबाट उठेका विषयलाई समेटेर राष्ट्रिय भेलामा थप छलफल गर्ने तयारी गरिएको हो।
भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह लगायतका नेताहरू सहभागी हुनेछन्।
यसैबीच, कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको विवाद पनि भेलाको प्रमुख विषय बन्ने देखिएको छ। विशेष महाधिवेशनविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पुनरवलोकनका लागि सर्वोच्च अदालतमा दिएको निवेदनमा अदालतले निस्सा दिएपछि पार्टीभित्रको विवाद फेरि चर्किएको छ।








Add Comment