काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नुपर्ने तथा प्रदेश संरचना खारेज गरी संघ र स्थानीय तह गरी दुई तहको सरकार कायम गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी अर्जुन विश्वकर्माले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको बताए। उनले पटक–पटक सरकार परिवर्तन हुँदा देशमा राजनीतिक अस्थिरता बढेको भन्दै निर्वाचित सरकारले पूर्ण कार्यकाल काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे।
विश्वकर्माले बलात्कारी, भ्रष्टाचारी र हत्यारालाई फाँसीको सजाय हुने गरी संविधान संशोधन गर्नुपर्ने, बैंकहरू राष्ट्रियकरण गर्नुपर्ने तथा प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि अघि सारे।
उनका अनुसार देशमा सुशासन कायम गर्न र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न राजनीतिक तथा प्रशासनिक संरचनामा परिवर्तन आवश्यक छ। प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।
eHeraldPost ले प्रदर्शनस्थलबाट प्रदर्शनकारी अर्जुन विश्वकर्मासँग गरेको कुराकानीमा उनले यी धारणा व्यक्त गरेका हुन्।