समाचार

पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्छ : सहमहान्त्री डिला संग्रौला

लतिलपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री डा। डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा  धारणा राख्दै उनले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत र देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । प्रसिद्ध फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइ उद्धृत गर्दै सहमहामन्त्री संग्रौलाले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट गरिन् ।

सहमामन्त्री संग्रौलाले पार्टीको १५ औँ महाधिवेशन घोषित कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन् । ‘जरा अभियान’ र आफ्नो हालैको साङ्गठनिक भ्रमणका क्रममा कार्यकर्ता तथा आम नागरिकमा अझै पनि कांग्रेसप्रति आशा जीवितै रहेको तर चुस्त साङ्गठनिक परिचालनको खोजी भइरहेको केन्द्रीय कार्यसमितिमा उनले बताइन् ।

नियमावली, निर्वाचन निर्देशिका, र सदस्यता अद्यावधिकको काम समयमै सक्दै महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति तथा प्रचार–प्रसार लगायतका उपसमितिहरू अविलम्ब गठन गर्न माग पनि गरिन् । तराई–मधेशमा विकसित घटनाक्रमबारे धारणा राख्ने क्रममा सहमहामन्त्री संग्रौलाले सामाजिक तथा जातीय सद्भाव बिथोल्ने प्रयासप्रति कांग्रेस गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि कांग्रेसले अघि सारेको ‘संसदीय छानबिन समिति’ गठनको अडान नै पार्टीको मुख्य ‘बटमलाइन’ हुनुपर्ने उनको भनाइ थियो । बहुजातीय र बहुसांस्कृतिक एकताको वकालत गर्दै मधेशमा शान्ति–सुरक्षा र भ्रातृत्व कायम राख्न कांग्रेसले नै अग्रणी भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

सरकार गठनको ४ महिना पूरा भइसक्दा पनि वर्तमान सत्ता दिशाहीन, असक्षम र पपुलिस्ट निर्णयहरूमा रमेको भन्दै प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसले संसदभित्र जनताका मुद्दामा कडा र तार्किक बहस चलाउनु पर्नेमा जोड थियो ।

प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचाताणीले सङ्घीयतामाथि नै प्रश्न उठाएकाले यस विषयमा नेपाली कांग्रेस स्पष्टसँग अघि बढ्नु पर्नेमा जोड दिइन् । संग्रौलाले विदेशमा रहेका लाखौँ नेपालीहरूको मताधिकारको ग्यारेन्टी र जनसम्पर्क समितिहरूको सुदृढीकरणका लागि स्पष्ट नीति ल्याउन आग्रह गरिन् ।

लामो समयदेखि तदर्थवादमा चलेका नेपाल विद्यार्थी संघ, तरुण दल, र महिला संघ लगायतका भ्रातृ संस्थाहरूको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा लैजानुपर्ने उनको सुझाव थियो । देशको समसामयिक अवस्था र जनजीविकाका सवालमा सरकारले पूर्वतयारी र भण्डारणको अध्ययन नगरी १४।२ केजीको सिलिन्डर भर्ने तदर्थवादी निर्णय गर्दा ग्यासको हाहाकार मच्चिएको आरोप लगाइन् ।

कूटनीतिक पहल गरी ग्यासको आयात र भण्डारण दोब्बर बढाउन, विद्युत खपतमा लगाइएका अतिरिक्त कर हटाई इन्डक्सन चुलोमा सहुलियत दिन र मुख्य सिजनमा मल नपाएर समस्यामा परेका किसानहरूलाई अनुदानको मल उपलब्ध गराउने विषयमा कांग्रेसले सरकारसँग पहल गर्नुपर्नेमा जोड दिइन् ।