प्रतिष्ठानकी अध्यक्ष तथा शहीद सञ्जय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतो तथा सहजकर्ता अधिवक्ता आनन्द गुप्तालगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
उनले विगतकै शैली र परम्परागत राजनीतिक अभ्यासबाट मात्रै अब नयाँ नेतृत्व स्थापित हुन नसक्ने बताए। मधेशको वास्तविक समस्या र जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेतृत्व पहिचान गर्न गम्भीर प्रयास आवश्यक रहेको उनको भनाइ थियो। ‘जनताको वास्तविक हितमा काम गर्ने नेताको खोजी हुनुपर्छ,’ लालले भने, ‘यसका लागि युवा पुस्ताले नै सक्रिय भएर मेहनत गर्न जरुरी छ।’
मधेशको राजनीतिक भविष्य निर्माणका लागि नयाँ पुस्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वमा नयाँ सोच, क्षमता र जनउत्तरदायित्व आवश्यक रहेको बताए। पुरानो राजनीतिक अभ्यासको निरन्तरताभन्दा जनताका वास्तविक सरोकारलाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको धारणा थियो।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान संशोधनको विषय मधेशका लागि संवेदनशील रहेको बताए। उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन गर्दा मधेसले विगतका आन्दोलन र संघर्षबाट प्राप्त गरेका अधिकारसमेत गुम्ने जोखिम रहेको दाबी गरे।
मधेशको राजनीतिलाई वर्तमान परिस्थितिअनुसार अत्यन्तै सचेत र रणनीतिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै त्रिपाठीले प्राप्त उपलब्धिको संरक्षणसँगै थप अधिकारका लागि राजनीतिक पहल आवश्यक रहेको बताए।
उनले मधेशकेन्द्रित राजनीतिक दलहरूले समेत आफ्नो कार्यशैली र संगठनात्मक संरचनामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। जनताको अपेक्षा र बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसके मधेशकेन्द्रित दलहरूको प्रभाव थप कमजोर हुन सक्ने उनको भनाइ थियो।
अन्तरक्रियामा मधेशको आगामी राजनीतिक यात्रामा नयाँ पुस्ताको भूमिकालाई विशेष महत्व दिनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो। पुराना संघर्ष र आन्दोलनबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै नयाँ पुस्ताले राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
मधेशका समस्या पहिचान गर्ने मात्र नभई त्यसको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, सक्षम नेतृत्व र जवाफदेही राजनीतिक संरचना आवश्यक रहेको कार्यक्रममा औंल्याइएको थियो। कार्यक्रमका सहभागीहरूले मधेशको विगतको संघर्ष र उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्दै वर्तमान चुनौतीको पहिचान र भविष्यको स्पष्ट मार्गचित्र निर्माण गर्न यस्ता बहस आवश्यक रहेको बताएका थिए।
अन्तरक्रियाले मधेशको आगामी यात्रा कुन राजनीतिक, सामाजिक तथा आर्थिक दिशातर्फ अघि बढाउने भन्ने विषयमा थप गम्भीर बहसको आवश्यकता औंल्याउँदै अधिकार, सुशासन, समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर नयाँ राजनीतिक सोच विकास गर्नुपर्ने सन्देश दिएको छ।
कार्यक्रममा वक्ताहरूले मधेशको विगतको राजनीतिक यात्रा, विभिन्न चरणमा भएका आन्दोलन तथा संघर्षबाट प्राप्त उपलब्धिको समीक्षा गर्दै वर्तमान अवस्थामा मधेशले भोगिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीबारे धारणा राखेका थिए।








Add Comment