समाचार

गरिमा चौधरीको न्यायका लागि माइतीघरमा प्रदर्शन, र्‍याली निकाल्न खोज्दा प्रहरी–प्रदर्शनकारीबीच धकेलाधकेल

काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको न्यायको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। गरिमाका लागि न्यायको माग गर्दै आयोजित प्रदर्शनमा विभिन्न क्षेत्रका सामाजिक अभियन्ता तथा इन्फ्लुएन्सरसहित पत्रकार ऋषि धमला लगायतको सहभागिता रहेको थियो।

प्रदर्शनमा सहभागीहरूले गरिमा चौधरीको मृत्यु प्रकरणमा दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै आवाज उठाएका थिए। उनीहरूले बालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएका थिए।

प्रदर्शनकारीहरूले “गरिमाका लागि न्याय देऊ”, “बलात्कारीलाई फाँसी देऊ” लगायतका नारासहित प्रदर्शन गरेका थिए। उनीहरूले दोषीलाई कडा सजाय हुनुपर्ने तथा बालबालिका र महिलाले सडक तथा गल्लीमा सुरक्षित रूपमा हिँड्न सक्ने वातावरण बनाउनुपर्ने माग गरेका थिए।

प्रदर्शनकारीहरूले फाँसीको सजायसम्बन्धी मागसमेत उठाएका थिए। उनीहरूले गम्भीर प्रकृतिका यौन हिंसा तथा हत्याका घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए।

माइतीघर मण्डलाबाट र्‍याली निकाल्ने क्रममा प्रहरीले रोकेपछि केहीबेर अवस्था तनावपूर्ण बनेको थियो। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। केहीबेर तनाव सिर्जना भए पनि प्रदर्शनकारीहरूले गरिमा चौधरीको न्यायको मागसहित आफ्नो प्रदर्शन जारी राखेका थिए।

प्रदर्शनमा सहभागीहरूले आज देशका विभिन्न स्थानमा समेत गरिमा चौधरीको न्यायका लागि आवाज उठाइएको बताएका छन्। माइतीघरमा भने सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन र्‍याली निकाल्ने क्रममा अचानक तनावपूर्ण बनेको थियो।

प्रदर्शनकारीहरूको मुख्य माग गरिमा चौधरीको घटनामा निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही र बालिका तथा महिलाको सुरक्षाको सुनिश्चितता रहेको थियो।

गरिमा चौधरीको न्यायको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले न्याय नपाएसम्म आवाज उठाइरहने बताएका छन्।