बारा । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन्।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी स्थानीय अभियन्तासहित काठमाडौं आएका हुन्। काठमाडौं आएलगत्तै उनीहरूलाई गृह मन्त्रालय लगिएको छ।
गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित पक्षको उपस्थितिमा गरिमा चौधरीको घटना र न्यायका विषयमा छलफल हुन लागेको बताइएको छ। छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृह मन्त्रालय पुगेकी छन्।
काठमाडौं आउनुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नी छोरीको न्यायका लागि जारी आन्दोलन नरोक्न आग्रह गरेका थिए। उनले दोषीमाथि कडा कारबाही र परिवारले न्याय पाउनुपर्ने माग राख्दै आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका हुन्।
गरिमा चौधरीको घटनालाई लिएर पछिल्लो समय बारा हुँदै काठमाडौंसम्म प्रदर्शन तथा न्यायको माग चर्किँदै गएको छ। शनिबार काठमाडौंको माइतीघर मण्डलामा समेत गरिमाको न्यायका लागि प्रदर्शन गरिएको थियो।
सरकार र गरिमाका परिवारबीच हुने छलफलबाट घटनाको अनुसन्धान, दोषीमाथिको कानुनी कारबाही तथा पीडित परिवारका मागबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।








Add Comment