समाचार

गरिमा चौधरीका आमा–बुबासँग गृह मन्त्रालयमा छलफल सुरु

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृह मन्त्रालयमा छलफल सुरु भएको छ।

गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीसँग गृहमन्त्री सुधन गुरुङसहित गृह मन्त्रालयको टोलीले शनिबार साँझ छलफल सुरु गरेको हो।

छलफलका लागि गरिमाका आमा–बुबा शनिबार दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए। उनीहरूसँगै केही स्थानीय अभियन्तासमेत काठमाडौं आएका छन्।

गरिमाको न्यायका लागि भइरहेको आन्दोलन र परिवारका मागबारे छलफल केन्द्रित रहेको बताइएको छ। छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृह मन्त्रालय पुगेकी छन्।

गरिमा चौधरीको न्यायका लागि बारा, काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन तथा आन्दोलन भइरहेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।

सरकार र पीडित परिवारबीचको छलफलबाट घटनाको अनुसन्धान तथा परिवारले उठाउँदै आएका मागका विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।