समाचार

गृहमन्त्री सुधन गुरुङको अपिल : ‘आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, गरिमालाई न्याय दिलाऔँ’

काठमाडौं । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गृहमन्त्री सुधन गुरुङले गहिरो दुःख व्यक्त गर्दै सरकारले घटनालाई संवेदनशील रूपमा लिएर अनुसन्धान अघि बढाइरहेको बताएका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै गरिमामाथि भएको घटना कुनै एक परिवारको मात्र नभई सम्पूर्ण समाजको पीडा भएको बताएका छन्। उनले घटनाप्रति आमाहरू, महिला तथा नागरिकमा देखिएको आक्रोश आफूले पूर्ण रूपमा बुझ्न सक्ने उल्लेख गरेका छन्।

उनका अनुसार घटनामा आरोपितहरू तत्काल पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।

मृत्युदण्डको मागप्रति नागरिकको आक्रोश स्वाभाविक रहेको भन्दै गुरुङले नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको उल्लेख गरेका छन्। त्यसैले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था नरहेको उनको भनाइ छ।

गृहमन्त्रीले सरकारको मुख्य प्राथमिकता निष्पक्ष, वैज्ञानिक र मजबुत अनुसन्धानमार्फत गरिमालाई न्याय दिलाउनु रहेको बताएका छन्। प्रमाण सुरक्षित राख्ने, दोषी उम्कन नदिने र निर्दोष व्यक्ति नफस्ने गरी अनुसन्धान अघि बढाउनुपर्ने उनले बताएका छन्।

उनले गरिमाका अभिभावकले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि थप चार जना पक्राउ गरिएको जानकारीसमेत दिएका छन्।

गुरुङले घटनालाई अपुष्ट सूचनाका आधारमा राजनीतिकरण वा ‘मिडिया ट्रायल’ नगर्न आग्रह गरेका छन्। नागरिकको खबरदारी आवश्यक रहेको तर अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गर्ने गतिविधिले अन्ततः न्यायलाई नै कमजोर बनाउन सक्ने उनको भनाइ छ।

उनले भनेका छन्, “आक्रोशलाई न्यायको शक्तिमा बदलौँ। गरिमालाई न्याय दिलाऔँ। हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔँ।”

गृहमन्त्री गुरुङले भविष्यमा यस्ता घटना दोहोरिन नदिन बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन्।