समाचार

रास्वपा सरकारको कार्यशैलीप्रति एमाले नेता ज्ञवालीको प्रश्न, ‘अधिनायकवादतर्फ उन्मुख’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले सरकार लोकतान्त्रिक संस्थाहरूको भूमिकालाई कमजोर पार्दै अधिनायकवादी बाटोतर्फ अघि बढिरहेको आरोप लगाएका हुन्।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनमतसहित गठन भएको सरकारको पछिल्लो पाँच महिनाको गतिविधि सन्तोषजनक नभएको टिप्पणी गरे।

उनले सरकार सञ्चालनमा राष्ट्रपति र संसद्को भूमिकालाई पर्याप्त महत्व नदिइएको आरोप लगाए। सरकारमाथि नियन्त्रण र सन्तुलन कायम गर्ने संस्थाहरूलाई बेवास्ता गर्दै कार्यशैली अघि बढिरहेको उनको दाबी थियो।

ज्ञवालीले सरकार गठन गर्ने दलसँग समेत आवश्यक समन्वय नभएको टिप्पणी गर्दै राजनीतिक निर्णय प्रक्रियामा पार्टीकै निर्देशनसमेत पालना नगरिएको आरोप लगाए।

उनले पछिल्लो राजनीतिक अवस्थालाई लिएर वामपन्थी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। अधिनायकवादी प्रवृत्तिविरुद्ध सबै वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्ने उनको धारणा थियो।