काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले नेपालमा कानुनको अवस्था र त्यसको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले कानुनमै कमजोरी छ कि त्यसलाई कार्यान्वयन गर्ने व्यक्तिको क्षमतामा समस्या छ भन्ने प्रश्न गरे। उनले कानुन प्रभावकारी रूपमा लागू हुन नसक्दा अपराध तथा भ्रष्टाचार नियन्त्रणमा चुनौती देखिएको बताए।
विदेशमा रहेको नेपालीको सम्पत्ति फिर्ता ल्याउनेदेखि विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने विषयसम्म राज्य कमजोर देखिएको उनको भनाइ थियो। स्वीस बैंकमा भ्रष्ट नेताहरूको रकम रहेको विषय सार्वजनिक रूपमा उठ्ने गरे पनि त्यसलाई नेपाल ल्याउन नसकिएको उनले उल्लेख गरे।
साम्पाङले बालिका तथा नाबालिकामाथि हुने बलात्कार र हत्याजस्ता घटनाप्रति पनि कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए। दोषी प्रमाणित भएका बलात्कारीलाई कानुनअनुसार कठोर सजाय दिनुपर्ने उनको माग छ।
उनले कानुन सबैका लागि समान रूपमा लागू हुने र अपराध गर्नुअघि नै कानुनको डर पैदा हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।








Add Comment