काठमाडौं । प्रतिनिधिसभाको आगामी भदौ १० गते बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग हुने प्रश्नोत्तर कार्यक्रमका लागि ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्। सभामुख डोलप्रसाद अर्यालले तोकेको समयभित्र सांसदहरूले आफ्ना प्रश्न संसद् सचिवालयमा बुझाएका हुन्।
प्रतिनिधिसभाको नियमअनुसार प्रश्नोत्तर कार्यक्रममा बढीमा १५ वटा प्रश्न समावेश गर्न सकिने भए पनि यसपटक ११ वटा मात्रै प्रश्न दर्ता भएका छन्।
दलहरूको प्रतिनिधित्वका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सात प्रश्नको हिस्सा छुट्याइएको थियो। तर, रास्वपाका सांसदबाट तीनवटा प्रश्न मात्रै दर्ता भएका छन्। अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रधानमन्त्रीलाई प्रश्न गर्ने गरी प्रश्न दर्ता गराएका छन्।
नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङले प्रश्न बुझाएका छन् भने नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न राखेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्ने भएका छन्।
सभामुखको निर्देशनअनुसार प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधिसभामा रहेका सबै दललाई समेट्ने व्यवस्था गरिएको छ। प्रारम्भिक रूपमा ६ वटा दलका लागि एक–एक प्रश्न छुट्याइएको छ भने बाँकी प्रश्न दलहरूको संसद्मा रहेको संख्याका आधारमा वितरण गरिएको हो।
संसद् सचिवालयले निर्धारण गरेको कोटाअनुसार रास्वपाले सात, नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई–दुई तथा श्रम संस्कृति पार्टी र राप्रपाले एक–एक प्रश्न पाउने व्यवस्था छ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अभ्यास नयाँ भने होइन। यसअघि पनि निर्धारित संख्याभन्दा बढी प्रश्न दर्ता हुने गरेका थिए। पहिलोपटक २०७५ माघ ४ गते सञ्चालन भएको यस्तो कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता भएका १८ वटै प्रश्नको जवाफ दिएका थिए।
भदौ १० गतेको प्रतिनिधिसभा बैठकमा दर्ता भएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने संसद् सचिवालयले जनाएको छ।








Add Comment