काठमाडौं । नेपाली ब्रान्ड यात्रीले नेपालमै डिजाइन, इन्जिनियरिङ तथा उत्पादन गरेको नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङ र यात्रीको सहकार्यमा तयार भएको यो स्कुटर तीन फरक ब्याट्री विकल्पसहित बजारमा ल्याइएको हो।
पी–२ को विभिन्न भेरियन्टले एकपटक पूर्ण चार्जमा १४० किलोमिटरदेखि २०७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। सबैभन्दा ठूलो ५.२ किलोवाट–घण्टा ब्याट्री भएको उच्च भेरियन्टले २०७ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ।
स्कुटरमा फास्ट चार्जिङ सुविधा समेत उपलब्ध छ। उच्च क्षमताको डीसी चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४१ मिनेटमा चार्ज गर्न सकिने बताइएको छ।
पी–२ लाई स्मार्ट फिचरयुक्त स्कुटरका रूपमा पनि अघि सारिएको छ। यसमा एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्टलगायतका सुविधा समावेश गरिएको छ।
सिप्रदी यात्रीले स्कुटर प्रयोगकर्ताका लागि चार्जिङ पूर्वाधार विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। कम्पनीले देशका विभिन्न स्थानमा ३५ वटा डीसी फास्ट चार्जर स्थापना गर्ने जनाएको छ।
पी–२ को उत्पादन विस्तारका लागि करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार युनिटसम्म उत्पादन गर्ने योजना कम्पनीले अघि सारेको छ।
नेपालमै डिजाइन र उत्पादन भएको विद्युतीय स्कुटरका रूपमा पी–२ को सार्वजनिकले नेपाली अटोमोबाइल क्षेत्रमा स्थानीय डिजाइन तथा प्रविधिको प्रयोगलाई थप अघि बढाउने अपेक्षा गरिएको छ। यसअघि स्कुटरलाई नेपालका विभिन्न भूगोल र सडक अवस्थाका क्षेत्रमा लामो दूरीसम्म परीक्षणसमेत गरिएको थियो।