काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दर्ता गराएका छन्।
देउवाको तर्फबाट कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काको तर्फबाट अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा निवेदन पेस गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुवै निवेदन दर्ता भएका छन्। निवेदनमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको दाबी गर्दै त्यसपछि सुरु गरिएको महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न माग गरिएको छ।
देउवा र खड्का पक्षले पार्टीको आधिकारिकता तथा नेतृत्वसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकै अवस्थामा एकलौटी ढंगबाट महाधिवेशनको प्रक्रिया अघि बढाइएको दाबी गरेका छन्।
यसअघि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सुरुदेखि नै सुनुवाइ गर्न अनुमति दिएको थियो। त्यसपछि पनि महाधिवेशनको प्रक्रिया अघि बढाइएको भन्दै त्यसलाई रोक्न मागसहित पूरक निवेदन दर्ता गरिएको हो।
सर्वोच्च अदालतले दुवै निवेदनको सुनुवाइ आगामी ११ गते गर्ने मिति तोकेको प्रवक्ता कोइरालाले जानकारी दिएका छन्।
अब अदालतको सुनुवाइपछि कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढ्ने वा रोक लगाइने भन्ने विषयमा थप स्पष्टता आउनेछ।








Add Comment