समाचार

रसुवा बाढीपछि उद्धार र राहतका लागि हेलिकप्टर स्ट्यान्डबाइमा

काठमाडौं । रसुवामा आएको बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकारले आवश्यक तयारी अघि बढाएको छ। उद्धारका लागि प्रयोग गर्न सकिने सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आवश्यकताअनुसार प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत सञ्चालन गर्न हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राखिएको जानकारी दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। आवश्यकताअनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवाका लागि थप एम्बुलेन्स र मेडिकल टोली पठाउने तयारी भइरहेको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टिम, नेपाल स्काउट, रेडक्रससहित सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।