समाचार

रसुवाको बाढीबारे समीक्षा गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को आपत्कालीन बैठक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिको समीक्षा तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को आपत्कालीन बैठक बसेको छ।

सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकमा बाढीबाट सिर्जित अवस्थाबारे समीक्षा गर्दै तत्काल उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउने विषयमा छलफल भएको जनाइएको छ।

बैठकले बाढी प्रभावित क्षेत्रमा राज्यका सम्बन्धित संयन्त्रलाई थप सक्रिय बनाउने तथा आवश्यक स्रोतसाधन परिचालन गर्ने विषयमा जोड दिएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा तथा त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको अवस्थामा प्रभावित नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको छ।

सरकारले सम्भावित जोखिम रहेका तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई सक्रिय बनाएको जनाएको छ।