काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित जिल्लाका संघीय सांसदहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसद सहभागी थिए। छलफलमा बाढीबाट भएको क्षति, नदी तटीय क्षेत्रमा रहेका बस्तीको अवस्था तथा जारी उद्धार र राहत कार्यबारे जानकारी लिइएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएर बाढी प्रभावित क्षेत्रको अवस्थाबारे उच्चस्तरीय जानकारी लिएका थिए।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिमलाई ध्यान दिँदै सतर्कता बढाउन तथा विस्थापित परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले जानकारी गराएका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको सरकारले जनाएको छ।








Add Comment