काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावितका लागि राहत तथा उद्धारका नाममा आफूखुसी आर्थिक सहयोग संकलन नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार बुधबार बिहान करिब ८ः४० बजे रसुवामा आएको ठूलो बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित तथा अलपत्र परेका नागरिकको खोज तथा उद्धारसँगै राहत वितरणका काम भइरहेका छन्।
यसैबीच केही व्यक्ति तथा समूहले बाढीपीडितका लागि भन्दै आर्थिक सहयोग उठाउन थालेको र सामाजिक सञ्जालमार्फत नगद सहयोग माग्दै विभिन्न QR Code समेत सार्वजनिक गरिरहेको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ।
महाविपत्तिको अवस्थामा पीडितका नाममा अनधिकृत रूपमा रकम उठाउने कार्य हुन सक्ने भन्दै प्राधिकरणले जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन अनुरोध गरेको हो। नेपाल सरकारले औपचारिक रूपमा आह्वान गरेका माध्यमबाहेक अन्य व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्न पनि प्राधिकरणले सर्वसाधारणलाई सचेत गराएको छ।
अनधिकृत रूपमा सहयोग संकलन भइरहेको जानकारी पाएमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ०१–४२१११९७ नम्बरमा जानकारी गराउन आग्रह गरिएको छ।
प्राधिकरणले विपद्को समयमा वास्तविक प्रभावितसम्म राहत पुर्याउन सहयोग गर्नुपर्ने भन्दै अनधिकृत आर्थिक संकलनबाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।









Add Comment