समाचार

रसुवा बाढीबारे प्रधानमन्त्री बालेन शाहको सम्बोधन: उद्धार, उपचार र राहतलाई सरकारको पहिलो प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको जानकारी प्राप्त भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रभावित नागरिकलाई राज्य एक्लो नछाड्ने बताएका छन्।

प्रधानमन्त्रीका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने विषयमा आवश्यक निर्णय गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको उनले जानकारी दिएका छन्। सुरक्षाकर्मीले हेलिकोप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्रीको भनाइ छ।

घाइतेको निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा मेडिकल टोली, स्वास्थ्यकर्मी, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्री पठाइएको जानकारीसमेत उनले दिएका छन्।

प्रधानमन्त्री शाहले रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, नेपाल स्काउटलगायतका संस्थासँग आपत्कालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको बताएका छन्।

उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित क्षेत्रमध्ये रहेका छन्। ती क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याउने तयारी भइरहेको उनले बताएका छन्।

बेपत्ता नागरिकको खोजी कार्यलाई थप तीव्र बनाउने, घाइतेको विवरण संकलन गर्ने तथा बाढीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने काम जारी रहने प्रधानमन्त्री शाहले बताएका छन्। उनले रातभर पनि उद्धार कार्य जारी रहने जानकारी दिएका छन्।

बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस कठिन समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्न आह्वान गरेका छन्। उनले प्रभावित नागरिकलाई धैर्य राख्न आग्रह गर्दै उद्धार, उपचार, खानपान र बसोबासको जिम्मेवारी सरकारले लिने बताएका छन्।