काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको उद्धार आज बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रबाट घाइते नागरिकको उद्धारलाई तीव्रता दिने निर्णय गरेको थियो।
उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा राख्ने तयारी गरिएको छ।
गम्भीर अवस्थाका घाइतेलाई भने प्राथमिकताका आधारमा हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई थप उपचार गरिने जनाइएको छ। घाइतेको अवस्थाअनुसार प्राथमिकता निर्धारण गर्दै उद्धार तथा उपचार प्रक्रिया अघि बढाइनेछ।
यसैगरी, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्गबाट नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउने कार्य पनि सुरु गरिएको छ।








Add Comment