काठमाडौं । ‘बझाङको बाघ’ भनेर चिनिने नेपाली एमएमए फाइटर रविन्द्र ढाँट आज रोड टु युएफसी सिजन ५ अन्तर्गतको सेमिफाइनल प्रतिस्पर्धामा भिड्दैछन्।
ढाँटले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मुर्डोकसँग बान्टमवेट विधामा प्रतिस्पर्धा गर्नेछन्। यो प्रतिस्पर्धा चीनको सांघाईमा आयोजना हुँदैछ।
ढाँटले यसअघि क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्डमा प्राविधिक नकआउट (TKO) मार्फत पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
यता, उनका प्रतिद्वन्द्वी मुर्डोक व्यावसायिक एमएमए करियरमा हालसम्म अपराजित रहेका छन्। ढाँट र मुर्डोकबीचको प्रतिस्पर्धालाई नेपाली एमएमएका लागि निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
आजको सेमिफाइनलमा विजयी भए ढाँट रोड टु युएफसीको फाइनलमा पुग्नेछन्। यस प्रतियोगितामा सफलता हासिल गर्दै अन्तिम लक्ष्यसम्म पुग्न सके उनी नेपाली एमएमएको इतिहासमा युएफसीसँग सम्झौता गर्ने पहिलो नेपाली फाइटर बन्ने अवसर प्राप्त गर्नेछन्।
रोड टु युएफसी सिजन ५ को सेमिफाइनल कार्ड नेपाली समयअनुसार दिउँसो २:४५ बजेबाट सुरु हुने जानकारी छ। ढाँटको प्रतिस्पर्धा कार्डको छैटौं नम्बरमा रहेकाले उनको वास्तविक फाइट समय अघिल्ला खेलको अवधिअनुसार केही फरक पर्न सक्छ।
नेपाली खेलप्रेमीहरू अहिले रविन्द्र ढाँटको ऐतिहासिक यात्रातर्फ केन्द्रित छन्। आजको जितले उनलाई रोड टु युएफसीको फाइनलतर्फ एक कदम नजिक पुर्याउनेछ।
नेपालको बाघ आज अष्टकोणभित्र गर्जने तयारीमा छन्।