समाचार

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, थप बाढीको जोखिम भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यसअघि आएको भीषण बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ।

थप बाढी आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी तथा त्रिशुली नदी किनार क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ।

उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा विभिन्न कारणले जोखिमयुक्त क्षेत्रमा रहेका सबैलाई परिस्थितिमाथि विशेष निगरानी राख्न भनिएको छ।

सम्बन्धित निकायले जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। नदी किनार तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न र आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्नसमेत आग्रह गरिएको छ।

उक्त सूचना २०८३ भदौ १२ गते शुक्रबार जारी गरिएको हो।