समाचार

भोटेकोशी बाढीपछि शव खोजी तथा संकलनमा नेपाली सेनाले बढायो परिचालन, थप १२०० सैनिक खटिए

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो आएपछि नेपाली सेनाले आफ्नो खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ।

शव संकलन तथा खोजी कार्यमा ढिलाइ भएको गुनासोलाई गम्भीरताका साथ लिँदै नेपाली सेनाले विशेष टोली परिचालन गरी नदी तटीय क्षेत्रमा शव खोजी तथा संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

बाढीले तल्लो तटीय क्षेत्रमा समेत शव बगाएर ल्याएको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप १ हजार २ सय सैनिक जनशक्ति परिचालन गरिएको छ।

सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानहरूमा सैनिक टोलीलाई समूहगत रूपमा खटाएर खोजी तथा शव संकलन कार्य गरिरहेको छ।

यसअघि बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको थियो।

आज थप १ हजार २ सय सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।

नदीको तीव्र बहाव, जोखिमपूर्ण अवस्था तथा कठिन भौगोलिक परिस्थितिका बाबजुद सैनिक टोलीले सम्भावित स्थानहरूमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।