काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले हिजो थप २ हजार ९८३ जना सुरक्षाकर्मी परिचालन गरेको थियो।
विपद् प्रतिकार्यका लागि यसअघि १ हजार ८४५ जना सशस्त्र प्रहरी परिचालन रहेकामा थप जनशक्ति खटाइएसँगै कुल परिचालन संख्या ४ हजार ८२८ पुगेको थियो।
सशस्त्र प्रहरीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष बेस क्याम्प स्थापना गरी प्रभावित क्षेत्रमा विभिन्न विशेषज्ञ टोली खटाएको जनाएको थियो।
परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकर्मी, ‘मास क्याजुअल्टी भेहिकल’, शव व्यवस्थापन विज्ञ, शिविर समन्वय तथा व्यवस्थापन विज्ञ र प्राथमिक उपचार विज्ञहरू रहेका छन्।
भत्किएका संरचनामा खोज तथा उद्धारका लागि सीएसएसआर टोलीअन्तर्गत ४४ जना परिचालन गरिएको थियो। खोजी कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीको के–९ टोलीअन्तर्गत ७ वटा कुकुरसहित २१ जना समेत विभिन्न क्षेत्रमा खटिएका थिए।
यसैगरी, ५ वटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाड परिचालन गरिएको थियो भने डोरीमार्फत उद्धारका लागि १३ जना छुट्टै खटाइएको जनाइएको थियो। विभिन्न स्थानमा गोताखोर टोलीसमेत परिचालन गरिएको थियो।
देशका विभिन्न क्षेत्रबाट थप ३५५ जना सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको जनाइएको थियो।
भोटेकोशी हुँदै त्रिशुली नदी तटीय क्षेत्रका प्रभावित विभिन्न ४८ वटा वडामा सूचीकृत १ हजार २०० विपद् सूचकमार्फत सूचना संकलन गर्ने कार्यसमेत भइरहेको थियो।
सशस्त्र प्रहरीले प्रभावित नागरिकका लागि आश्रयस्थल व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीमा समेत सक्रिय रूपमा काम गरिरहेको जनाएको थियो।
घटनाको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर स्थापना गरी सेवा दिइरहेको तथा विपद्मा घाइतेको आकस्मिक उपचारका लागि काठमाडौंस्थित नेपाल एपीएफ अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा १००/१०० शय्याको विशेष तयारी गरिएको थियो।
प्रभावित क्षेत्रमा आवश्यक ऊर्जाको व्यवस्था गर्न सशस्त्र प्रहरीले ८ वटा जेनेरेटर, आवश्यक इन्धन, ५ वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामग्रीसमेत प्रभावित स्थानमा पुर्याएको जनाएको थियो।








Add Comment