समाचार

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री एकद्वार प्रणालीबाट संकलन

काठमाडौं । रसुवा, नुवाकोट र धादिङ जिल्लामा बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न चाहने संघसंस्था, कम्पनी, क्लब तथा नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले एकद्वार प्रणालीमार्फत सहयोग गर्न आग्रह गरेको छ।

गत २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट नदी किनारका क्षेत्र प्रभावित भएपछि पीडितका लागि आवश्यक राहत सामग्री संकलन तथा वितरणको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

राहतस्वरूप खाद्यान्न, लुगा तथा लत्ताकपडा, भाँडाकुँडा र अन्य घरायसी प्रयोजनका आवश्यक सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सामग्री उपलब्ध गराउन सक्नेछन्।

काठमाडौं जिल्लामा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा संकलन गरिने जनाइएको छ। संकलित सामग्रीलाई सम्बन्धित जिल्लाका सुरक्षा निकाय, काठमाडौंस्थित उद्धार तथा राहत कार्यमा प्रत्यक्ष खटिएका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी प्रभावित नागरिकसम्म पुर्‍याइनेछ।

राहत सामग्री संकलन तथा व्यवस्थापनसम्बन्धी समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ।

सम्पर्क नम्बर ९८४१७९८५४२ रहेको छ।

यसैगरी, नगद सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता नम्बर वा उपलब्ध गराइएको आधिकारिक क्यूआरमार्फत मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले राहतका नाममा जथाभावी संकलन नगरी आधिकारिक तथा एकद्वार प्रणालीमार्फत सहयोग गर्न सबैमा आग्रह गरेको छ।