शिक्षा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कर्मचारीको तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवागढी–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ भदौ १२ गते बसेको बैठकको निर्णय नम्बर ८७ अनुसार उक्त निर्णय गरिएको हो।

विश्वविद्यालयले कुलपतिबाट नियुक्त पदाधिकारीको एक महिनाको पारिश्रमिक कट्टा गर्ने जनाएको छ। त्यस्तै, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीको मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिनेछ।

उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीको ७ दिन बराबरको, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सो सरहका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक कट्टा गरिने जनाइएको छ।

यसैगरी, श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक कट्टा गरिनेछ।

उक्त रकम २०८३ भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था आर्थिक प्रशासन महाशाखामार्फत मिलाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत जिल्लामा बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको हो।