समाचार

रसुवा–भोटेकोशी बाढीपीडितका लागि राहत व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको छ। राहत सामग्रीको प्राप्ति, भण्डारण तथा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन डिजिटल प्रणालीको विकास तथा प्रयोग भइरहेको सम्बन्धित निकायले जनाएको छ।

हवाईमार्गबाट प्राप्त हुने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदामघरमा व्यवस्थापन गरिनेछ। त्यसैगरी स्थलमार्गबाट प्राप्त हुने राहत सामग्री नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी काठमाडौं, मैथली ब्यारेक, बट्टार नुवाकोट, जिल्ला प्रशासन कार्यालय, धुन्चे रसुवा वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकाय तथा सहयोगीहरूलाई निम्न व्यवस्था पालना गर्न अनुरोध गरिएको छ।

राहत व्यवस्थापनका लागि ४ महत्वपूर्ण व्यवस्था

१. राहत सामग्रीको विवरण अग्रिम उपलब्ध गराउने
राहत उपलब्ध गराउने निकायले सामग्रीको नामसहितको विस्तृत विवरण तयार गरी राहत संकलन केन्द्र वा सम्बन्धित प्राधिकरणलाई अग्रिम जानकारी गराउनुपर्नेछ।

२. डिजिटल प्रणालीमा अनिवार्य अभिलेख राख्ने
राहत संकलन केन्द्रले सामग्री बुझ्नुअघि त्यसको विवरण राम्रोसँग रुजु गर्नुपर्नेछ। प्राप्त सामग्रीको विवरण दोहोरो नपर्ने गरी प्राधिकरणले उपलब्ध गराएको डिजिटल प्रणालीमा अनिवार्य रूपमा इन्ट्री गर्नुपर्नेछ।

३. आवश्यकताको सूचीअनुसार मात्र राहत उपलब्ध गराउने
प्राधिकरणले तयार पारेको राहत आवश्यकता सूचीमा समावेश सामग्रीहरू मात्र उपलब्ध गराउन अनुरोध गरिएको छ। सूचीबाहेकका सामग्री उपलब्ध गराउनुपर्ने अवस्थामा सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणसँग अनिवार्य समन्वय गर्नुपर्नेछ।

४. थप जानकारीका लागि सम्पर्क
राहत सामग्री उपलब्ध गराउने सम्बन्धमा कुनै अन्योल वा द्विविधा भएमा मोबाइल नम्बर ९८४९२८१०९७ मा सम्पर्क गर्न सकिनेछ।

बाढीपीडितलाई आवश्यक राहत सही समयमा र सही स्थानमा पुर्‍याउन सबै सहयोगी निकाय, संस्था तथा व्यक्तिहरूलाई समन्वय गरेर सहयोग गर्न अनुरोध गरिएको छ।