समाचार

प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग बाढी उद्धार र राहतबारे लिँदै विस्तृत ब्रिफिङ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकटको समाधान तथा व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज निरन्तर छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनबारे विस्तृत ब्रिफिङ लिएका छन्।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्रीले उद्धारका बाँकी सबै कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

यसैगरी, प्रधानमन्त्रीले सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको जनाइएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत आजै छलफल तथा ब्रिफिङ लिने कार्यक्रम रहेको छ।

छलफलका क्रममा प्रधानमन्त्रीले बाढी प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। साथै, सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिइएको छ।