समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७ हजार ९९२ प्रहरी परिचालन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, उद्धार, जनधनको सुरक्षा तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।

प्रभावित क्षेत्रका विभिन्न समस्याको व्यवस्थापन तथा थप विपद्जन्य जोखिम न्यूनीकरणका लागि प्रहरी प्रधान कार्यालय, विभिन्न प्रदेश तथा अन्य प्रहरी युनिटबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको हो।

खटिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२ जना, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२ जना, गण्डकी प्रदेशबाट १ हजार ३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।

यसैगरी, नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७ जना, विभिन्न विशेष प्रहरी युनिट तथा शिक्षालयबाट समेत थप जनशक्ति परिचालन गरिएको जनाइएको छ।

आपत्कालीन समन्वय केन्द्र स्थापना

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ।

विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४ सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको छ।

अस्पताल र विमानस्थलमा विशेष व्यवस्था

घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वयका लागि विभिन्न अस्पताल र विमानस्थलमा फोकल डेस्क स्थापना गरिएको छ।

वीर अस्पतालमा ३० जना, सिभिल अस्पतालमा १३ जना, काठमाडौं मेडिकल कलेजमा ५ जना तथा त्रिभुवन शिक्षण अस्पतालमा विशेष प्रहरी टोली परिचालन गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेहरूको विवरण संकलनका लागि विशेष डेस्क स्थापना गरिएको छ।

ड्रोन, तालिमप्राप्त कुकुर र स्याटेलाइट फोनको प्रयोग

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा खोजी तथा अनुसन्धानलाई तीव्र बनाउन १२ वटा ड्रोन परिचालन गरिएको छ।

त्यस्तै, खोजी कार्यका लागि ५ वटा तालिमप्राप्त कुकुर तथा सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

शव पहिचान, व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीसमेत परिचालन गरिएको जनाइएको छ।

विपद्को मौका छोपी अपराध गर्नेहरू पक्राउ

बाढीपछि चोरी, लुटपाट तथा ठगीजस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रहरीले कारबाही अघि बढाएको छ।

चितवनमा नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट गहना निकालिरहेको भिडियो सार्वजनिक भएपछि दुई जनालाई पक्राउ गरिएको जनाइएको छ।

त्यस्तै, धादिङको गल्छी क्षेत्रमा बाढीले बगाएर ल्याएको बैंकको सेफबाट रकम हिनामिना गरेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जनाइएको छ।

बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जालमार्फत रकम असुल्ने प्रयास गरेको आरोपमा रामेछापका एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ।

खोजी, उद्धार र सुरक्षामा प्रहरी निरन्तर सक्रिय

बाढीको जोखिम पहाडी क्षेत्रबाट तल्लो तटीय क्षेत्रसम्म रहेकाले प्रहरीले चितवनको नारायणी नदी आसपासमा समेत ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, खोजी तथा उद्धार, राहत वितरणको सहजीकरण, शव व्यवस्थापन तथा सम्भावित अपराध नियन्त्रणका लागि नेपाल प्रहरी निरन्तर परिचालित रहेको जनाएको छ।