काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग ‘एनएसएल’को विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ।
आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार राशिसहित अन्तिम तयारीबारे जानकारी दिएका हुन्। उनका अनुसार उपविजेता टोलीले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनएसएलको मस्कटसमेत सार्वजनिक गरिएको छ। राष्ट्रिय चरा डाँफे, हिमशृङ्खला र नेपालको पाँच सार्वभौम पहिचान झल्किने गरी मस्कट तयार गरिएको आयोजकले जनाएको छ। मस्कटको डिजाइनमा नेपालीपन झल्काउने प्रयास गरिएको बताइएको छ।
प्रतियोगितामा कनेक्टेड बाई एनसेल मुख्य फ्लोरिङ पार्टनरका रूपमा रहनेछ। यस्तै, यति कार्पेट, वर्ल्डलिंक, एजुकेशन पार्टनरका रूपमा हिमालयन स्कुल, इन्स्योरेन्स पार्टनरमा हिमालयन लाइफ इन्स्योरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड तथा अन्य विभिन्न साझेदारहरू प्रतियोगितासँग जोडिएका छन्।
आयोजकका अनुसार प्रतियोगितामा थप प्रायोजकहरू पनि जोडिने क्रममा छन्। सहभागी सबै टोलीले उत्कृष्ट घरेलु तथा विदेशी खेलाडी अनुबन्ध गरेकाले प्रतियोगिता उच्चस्तरको हुने विश्वास व्यक्त गरिएको छ।
प्रतियोगिताको उद्घाटन असोज २० गते हुने तय भएको छ। उद्घाटन खेलमा गत वर्षको उपाधि विजेता र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
नेपाल भलिबल संघका अध्यक्ष तथा आयोजक पक्षले नेपालमा राष्ट्रिय खेल भलिबललाई व्यावसायिक रूपमा अगाडि बढाउन लिगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। सबै टोलीले सुरुमा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
एनएसएल दोस्रो संस्करण राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज २० देखि २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।








Add Comment