Home » Sample Page » भोटेकोशी बाढीपछि विद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार जारी, बालेनले दिए यस्तो जानकारी
समाचार

भोटेकोशी बाढीपछि विद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार जारी, बालेनले दिए यस्तो जानकारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी प्रभावित विद्युत् आयोजना क्षेत्रहरूमा भइरहेको खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ भने ती क्षेत्रमा कार्यरत केही मानिस सम्पर्कविहीन भएका छन्।

शाहका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्क्सका सम्पूर्ण संरचना तथा पावरहाउस बाहिर र भूमिगत पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको छ। सुरुआतदेखि नै खोजीको प्रयास गरिए पनि कठिन भौगोलिक अवस्था र हेलिकप्टरसमेत अवतरण गर्न नसक्दा उद्धारमा समस्या भएको उनले बताएका छन्। नेपाली सेनाको टोली सुरुङभित्र करिब २७५ मिटर पुगे पनि मानिस फेला नपरेको र हेलिकप्टरबाट मिनी एस्काभेटर पुर्‍याएर खोजी जारी राखिएको शाहले उल्लेख गरेका छन्।

लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र करिब ६० मिटर प्रवेश गरी दलदल हटाउने क्रममा ठूला चट्टान भेटेको थियो। थप खोजीका क्रममा ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल बनाएर प्रवेश गर्दा दुईवटा शव फेला परेको र खोजी कार्य अझै जारी रहेको शाहले बताएका छन्।

चिलिमे जलविद्युत् आयोजनामा पनि नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल हटाउँदै करिब ९० मिटरभित्र प्रवेश गर्दा दुईवटा शव फेला पारेको उनले जानकारी दिएका छन्। खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटरसहित अन्य उपकरण प्रयोग भइरहेको बताइएको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले खोजी कार्य अघि बढाएका थिए। सुरुङभित्र करिब २०० मिटर प्रवेश गरेपछि ताल भेटिएको र थर्मल ड्रोनमार्फत खोजी गरिएको शाहले बताएका छन्। खोजीका क्रममा एक जनाको शव फेला परेको तथा भदौ २० गते एक जनाको जीवितै उद्धार गर्नुका साथै थप दुईवटा शव फेला पारिएको उनले उल्लेख गरेका छन्।

नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी आएको पहिलो दिनदेखि नै खोजी सुरु गरिएको थियो। सुरुङको मुख पत्ता लगाउन कठिन भएपछि नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले काम अघि बढाएको थियो। खोजीका लागि ६ वटा एस्काभेटर प्रयोग गरी करिब २५ मिटर उत्खनन गरेपछि विद्युत् तारका लागि प्रयोग हुने सुरुङ फेला परेको शाहले बताएका छन्।

उक्त सुरुङमार्फत उद्धार टोली भित्र प्रवेश गरेको र आवश्यक विस्फोटक पदार्थ, कम्प्रेसर तथा ड्रिलिङ मेसिन हेलिकप्टरमार्फत आयोजना क्षेत्रमा पुर्‍याइएको उनले जानकारी दिएका छन्। भदौ १९ गते दुई जनाको जीवितै उद्धार गर्नुका साथै एक जनाको शव फेला परेको र थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेरामार्फत खोजी जारी रहेको उनले बताएका छन्।

त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि बाढी आएको दिनदेखि नै खोजीको प्रयास भइरहेको छ। नेपाली सेना र आयोजनाका कर्मचारीको टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल हटाउँदै अडिट सुरुङमा करिब १.७ किलोमिटरभित्रसम्म प्रवेश गरेको र त्यहाँ एउटा गाडी फेला परेको शाहले उल्लेख गरेका छन्। थप उपकरण पुर्‍याएर खोजी कार्य जारी राखिएको छ।

बाढीका कारण उक्त आयोजनाका ६ वटा आवासीय र एउटा कार्यालय भवन पुरिएको तथा ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको जनाइएको छ।

प्रधानमन्त्री शाहले बेपत्ता व्यक्तिहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली निरन्तर खटिरहेको बताएका छन्। खोज तथा उद्धारमा सहयोग गर्न मित्रराष्ट्रहरूबाट समेत विशेषज्ञ टोली आइरहेको उनले उल्लेख गरेका छन्।

उनले सीमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित परिवार तथा सर्वसाधारणलाई धैर्य गर्न आग्रह गरेका छन्।