Home » Sample Page » भोटेकोशी बाढीले शिक्षामा ठूलो क्षति, पुनरुत्थानका लागि सवा २ अर्बभन्दा बढी लाग्ने
शिक्षा

भोटेकोशी बाढीले शिक्षामा ठूलो क्षति, पुनरुत्थानका लागि सवा २ अर्बभन्दा बढी लाग्ने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्काउन २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनले बाढीबाट रसुवाका १८ वटा विद्यालय प्रभावित भएको देखाएको छ।

प्रभावित विद्यालयमध्ये ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनसँगै त्यहाँ रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिसमेत बाढीले नष्ट गरेको प्रतिवेदनमा उल्लेख छ।

बाढीका कारण त्यस क्षेत्रमा ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यालयका भौतिक संरचना क्षतिग्रस्त भएपछि विद्यार्थीको नियमित अध्ययनसमेत प्रभावित भएको हो।

प्रतिवेदनअनुसार संरचना पुनर्निर्माण तथा तत्काल पठनपाठन सहज बनाउन १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि भने २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

यसैबीच सरकारले बाढी प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। सरकारको आग्रहमा नेपालका निजी विद्यालयका विभिन्न पाँच संस्थाले समेत बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीका कारण विभिन्न स्थानमा बसोबास गरिरहेका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न उनीहरूलाई पायक पर्ने विद्यालयमै अध्ययनको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहले सहजीकरण गरिरहेका छन्।

बाढीले विद्यालयका भवनदेखि शैक्षिक सामग्रीसम्ममा क्षति पुर्‍याएपछि अब शिक्षा क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन ठूलो लगानी आवश्यक पर्ने देखिएको छ।