काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि यस वर्षका प्रमुख साइत सार्वजनिक भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जात्रासँग जोडिएका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि सम्पन्न गर्ने मिति र समय निर्धारण गरेको हो ।
समितिका अनुसार इन्द्रजात्राको तयारी भाद्रपद शुक्ल द्वितीयाबाटै सुरु हुनेछ । इन्द्रध्वजाका लागि आवश्यक रूख काट्न वन जाने साइत आज बिहान ९ः५३ बजे तोकिएको छ । चित्तपोल वनमा पुगेर रूख काट्ने काम भने राति ८ः४७ बजे गरिनेछ ।
परम्पराअनुसार भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजका लागि रूख छनोट गरी काटेर काठमाडौं ल्याउने गरिन्छ । उक्त लिङ्गो असोज ३ गते शनिबार बिहान ८ः०५ बजे नगर प्रवेश गराइनेछ ।
काठमाडौंमा ल्याइएको इन्द्रध्वज असोज ७ गते बुधबार बिहान ७ः४७ बजे धार्मिक विधिअनुसार ठड्याइनेछ । त्यसपछि जात्राका मुख्य कार्यक्रम सुरु हुनेछन् ।
इन्द्रजात्राको विशेष दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा रथयात्रा हुनेछ । यो दिन हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरूले कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।
भोलिपल्ट असोज १० गते शनिबार माथिल्लो टोलमा रथयात्रा गराइनेछ । जात्राको अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा असोज १३ गते मंगलबार नानीचा यात्रा हुनेछ । यस दिन महिलाहरूले मात्र रथ तान्ने चलन छ ।
सोही राति ९ः२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत तोकिएको छ । लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गर्ने र त्यससँगै १३ दिनसम्म चल्ने इन्द्रजात्रा औपचारिक रूपमा सम्पन्न हुने परम्परा रहेको छ ।
इन्द्रजात्रा काठमाडौंको धार्मिक आस्थासँगै यहाँको मौलिक संस्कृति, कला र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो । संस्कृतिविद्हरूले यसलाई दशैं, तिहार र फागुपूर्णिमाजस्ता प्रचलित पर्वभन्दा पनि पुरानो सांस्कृतिक परम्पराका रूपमा व्याख्या गर्दै आएका छन् ।
इन्द्रजात्रा तथा इन्द्रध्वज स्थापना गर्ने परम्पराको चर्चा विभिन्न प्राचीन धार्मिक ग्रन्थमा समेत भेटिन्छ । वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा इन्द्रध्वजसँग सम्बन्धित प्रसंग उल्लेख गरिएको पाइन्छ ।








Add Comment