विद्यालयको पढाइमा अब एआई र सीपदेखि संस्कारसम्म जोड्ने तयारी

Post Views: 16
विद्यालयको पढाइमा अब एआई र सीपदेखि संस्कारसम्म जोड्ने तयारी

काठमाडौं । विद्यालयमा पढाइने विषय र सिकाइको शैलीलाई बदलिँदो समयअनुसार परिमार्जन गर्नुपर्ने आवाज बलियो बनेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई संशोधन गर्ने क्रममा देशका विभिन्न ठाउँबाट संकलित सुझावमा प्रविधि, व्यवहारिक सीप र जीवनोपयोगी शिक्षालाई बढी महत्व दिनुपर्ने धारणा आएको हो।

पाठ्यक्रम विकास केन्द्रले गरेको सुझाव संकलनका क्रममा विद्यार्थी र शिक्षकदेखि अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिसँग प्रत्यक्ष संवाद गरिएको थियो। केन्द्रका अनुसार सातै प्रदेशका ४६ स्थानमा पुगेको अभियानमा २५ हजारभन्दा बढी व्यक्तिले आफ्नो धारणा राखेका छन्। २८ भन्दा बढी जिल्लाका विद्यालय र स्थानीय तहमा पुगेर सुझाव संकलन गरिएको थियो।

नयाँ पुस्तालाई भविष्यमा आवश्यक पर्ने ज्ञान र सीप विद्यालय तहबाटै दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। त्यसक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) र कोडिङको आधारभूत ज्ञानलाई पढाइसँग जोड्नुपर्ने सुझाव आएको छ। प्रविधिसँगै जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी विषयलाई पनि विद्यार्थीको सिकाइमा समेट्नुपर्ने धारणा राखिएको छ।

शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन नहुने भन्दै नैतिकता, संस्कार, सीप र उद्यमशीलतालाई समेत सिकाइको हिस्सा बनाउनुपर्ने सुझाव दिइएको छ। विद्यालयमा ‘पुस्तकरहित दिन’ र ‘झोलारहित दिन’ जस्ता अभ्यासलाई प्रभावकारी बनाउने विषय पनि छलफलमा उठेको केन्द्रले जनाएको छ।

केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रमका मुख्य प्रयोगकर्ता विद्यार्थी र शिक्षक भएकाले उनीहरूकै अनुभव तथा आवश्यकतालाई समेट्न प्रत्यक्ष रूपमा सुझाव लिइएको बताएका छन्।

अब प्राप्त सुझावलाई विज्ञहरूले तयार पारेका १२ वटा विषयगत अध्ययनपत्र तथा विभिन्न अनुसन्धानबाट आएका निष्कर्षसँग जोडेर हेर्ने तयारी गरिएको छ। यी सबै सामग्रीको अध्ययनपछि राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको प्रक्रिया अघि बढाइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

पाठ्यक्रम परिवर्तनसँगै शिक्षकको क्षमता विकास, पढाउने तरिका र विद्यार्थीको मूल्याङ्कन गर्ने प्रणालीमा समेत सुधार आवश्यक रहेको केन्द्रको निष्कर्ष छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *