संसद् अब डिजिटल प्रणालीमा, पुराना अभिलेखसमेत सुरक्षित गरिने

Post Views: 50
संसद् अब डिजिटल प्रणालीमा, पुराना अभिलेखसमेत सुरक्षित गरिने

काठमाडौं । नेपालको संसदीय कामकारबाहीलाई प्रविधिसँग जोड्दै संघीय संसद् सचिवालयले ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन सुरु गरेको छ। प्रणालीको उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले अब संसद्को कामलाई डिजिटल प्रविधिबाट अघि बढाउनु आवश्यक भइसकेको बताएका छन्।

उनका अनुसार प्रविधिको प्रयोगले तत्कालीन संसदीय गतिविधिलाई व्यवस्थित गर्नुका साथै भविष्यका पुस्ताका लागि नेपालको संसदीय इतिहास सुरक्षित राख्न समेत मद्दत पुग्नेछ।

सभामुख अर्यालले डिजिटल संसद्लाई प्रभावकारी बनाउन सचिवालय मात्र नभई सम्बन्धित सबै निकाय, कर्मचारी र सांसदले प्रणालीलाई आफ्नो कार्यसम्पादनको हिस्सा बनाउनुपर्नेमा जोड दिए।

नयाँ मञ्चमा संसद्सँग सम्बन्धित विभिन्न सूचना तथा दस्तावेज एउटै डिजिटल प्रणालीबाट व्यवस्थापन गर्ने व्यवस्था मिलाइनेछ। बैठक, विधेयक, संसदीय गतिविधि तथा पुराना ऐतिहासिक अभिलेखलाई समेत डिजिटल स्वरूपमा सुरक्षित गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रविधिमा आधारित प्रणालीले संसद्को कामलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। डिजिटल माध्यमबाट काम गर्दा प्रक्रिया छिटो हुनुका साथै सूचना सुरक्षित र पारदर्शी बनाउन पनि सहयोग पुग्ने उनको भनाइ थियो।

संघीय संसद् सचिवालयका अनुसार डिजिटल मञ्चमा सांसदको व्यक्तिगत विवरणदेखि विद्युतीय हाजिरीसम्मका सुविधा रहनेछन्। त्यस्तै, बैठक र कार्यसूची, विधेयकको अवस्थाबारे जानकारी, संसदीय अभिलेख तथा नागरिकले सार्वजनिक सूचना प्राप्त गर्न सक्ने व्यवस्था पनि प्रणालीमा समेटिनेछ।

डिजिटल अभिलेखको व्यवस्थाले संसद्का पुराना दस्तावेज संरक्षण गर्नुका साथै आगामी दिनमा संसदीय इतिहास तथा गतिविधि खोज्न र अध्ययन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *