काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद् अवस्थाबारे समेत छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को समयमा जापान सरकारले नेपालप्रति देखाएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गरेका छन्। विशेषगरी बाढीबाट प्रभावित नागरिकप्रति जापानले देखाएको ऐक्यबद्धताप्रति उनले आभार प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जापानी राजदूत तोरुले पनि विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति समवेदना प्रकट गरेका छन्।
राजदूत तोरुले विपद्पछिको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पुनर्स्थापना र पुनर्निर्माणका काममा जापान सरकारबाट सहयोग निरन्तर रहने बताएका छन्।
भेटवार्तामा नेपाल–जापान सम्बन्ध तथा विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा सहकार्यका विषयमा समेत कुराकानी भएको जनाइएको छ।