वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्प बनाउने सरकारको तयारी, इटहरीमा सीप तथा रोजगार मेला

Post Views: 30
वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्प बनाउने सरकारको तयारी, इटहरीमा सीप तथा रोजगार मेला

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताको अवस्थाबाट विकल्पका रूपमा विकास गर्ने लक्ष्यसहित स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने कामलाई अघि बढाएको छ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेटिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ कार्यान्वयन गर्ने क्रममा सरकारले सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको हो।

युवा जनशक्तिको सीप, क्षमता र ऊर्जालाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाउने उद्देश्यले युवा तथा श्रम मन्त्रालयले कोशी प्रदेशको इटहरीमा सात दिने सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

मन्त्रालयका अनुसार मेला असोज १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ। युवालाई सीपसँग जोड्दै रोजगारीका सम्भावित अवसरबारे जानकारी तथा पहुँच उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।

सरकारले यस्तो अभियानलाई इटहरीमा मात्र सीमित नराखी देशका अन्य क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरेर आवश्यक प्रक्रिया अघि बढाइएको छ।

सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता घटाउँदै स्वदेशमै सीपअनुसारको काम र आम्दानीको अवसर सिर्जना गर्ने नीतिलाई रोजगार प्रवर्द्धन दशकको प्रमुख उद्देश्यका रूपमा अघि सारेको छ।

स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न सीप विकास, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध विस्तार तथा युवालाई बजारको मागअनुसार दक्ष बनाउने कार्यक्रमलाई प्राथमिकता दिने सरकारको योजना छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *