काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवार पक्ष इमान्दार र निरन्तर सक्रिय नभए त्यसको प्रभाव सीमित हुने धारणा राखेका हुन्।
उनले संविधान कार्यान्वयनको यात्रा सुरुवात भएको र अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले मुलुकमा भ्रष्टाचारको जरा गहिरो रहेको भन्दै त्यसविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भनेका छन्, “यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।”
प्रधानमन्त्री शाहले संविधानलाई व्यवहारमा प्रभावकारी बनाउने जिम्मेवारी सरकार र राज्यका निकायसँगै नागरिकको पनि भएको संकेत गरेका छन्। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
उनले संविधान दिवसलाई उपलब्धिको उत्सव मात्र नभई आगामी जिम्मेवारी र चुनौतीको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।