घाइते प्यालेस्टिनीलाई गोली हानेर हत्या गर्ने इजरायली सैनिकलाई राष्ट्रपतिको माफी

घाइते प्यालेस्टिनीलाई गोली हानेर हत्या गर्ने इजरायली सैनिकलाई राष्ट्रपतिको माफी

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले कब्जा गरिएको पश्चिम किनारमा गम्भीर घाइते अवस्थामा रहेका एक प्यालेस्टिनी आक्रमणकारीलाई गोली हानेर हत्या गरेको घटनामा दोषी ठहर भएका पूर्वसैनिक एलोर अजारीयालाई माफी दिएका छन्।

करिब एक दशकअघि भएको उक्त घटनाले इजरायलमा ठूलो राजनीतिक तथा सामाजिक विवाद सिर्जना गरेको थियो। अधिकांश यहूदी पुरुषका लागि सैन्य सेवा अनिवार्य रहेको इजरायलमा अजारीयामाथिको कारबाहीलाई लिएर जनमत विभाजित भएको थियो।

अजारीयालाई सन् २०१७ मा मानव हत्या (manslaughter) को आरोपमा दोषी ठहर गर्दै १८ महिनाको जेल सजाय सुनाइएको थियो। उनले सजायको करिब दुई तिहाइ अवधि पूरा गरेपछि रिहा भएका थिए।

घटना सन् २०१६ मा पश्चिम किनारको हेब्रोनमा भएको थियो। प्यालेस्टिनी नागरिक अब्देल फत्ताह अल–शरीफले एक इजरायली सैनिकमाथि चक्कु प्रहार गरेपछि उनलाई गोली हानी घाइते बनाइएको थियो। त्यसपछि उनी जमिनमा निहत्था र गम्भीर घाइते अवस्थामा रहेका बेला अजारीयाले उनको टाउकोमा गोली हानेका थिए। उक्त घटनाको मोबाइल फोनबाट खिचिएको भिडियो सार्वजनिक भएपछि घटनाले अन्तर्राष्ट्रिय ध्यानसमेत खिचेको थियो।

इजरायली राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा रक्षा मन्त्री इजरायल काट्जको सिफारिसपछि माफी दिने निर्णय गरिएको जनाएको छ। लामो समय बितिसकेको अवस्था र यहूदी धर्मको महत्वपूर्ण पर्व योम किप्पुर नजिकिँदै गरेको समयलाई पनि निर्णयका आधारमध्ये समेटिएको बताइएको छ।

राष्ट्रपति कार्यालयका अनुसार अजारीयाले माफीका लागि दिएको निवेदनमा घटनाप्रति दुःख व्यक्त गरेका थिए। यसअघि दिएको निवेदनमा उनले आफूले चलाएको गोलीलाई ‘सञ्चालनगत त्रुटि’ भनेका थिए।

रक्षा मन्त्री काट्जले माफीलाई ‘उचित, मानवीय र आवश्यक निर्णय’ भन्दै अजारीया जटिल सैन्य परिस्थितिमा रहेको बताएका छन्। यद्यपि इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमिरले भने माफी दिन नहुने धारणा राखेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

अजारीयामाथिको फैसला इजरायली सैन्य अदालतले युद्ध तथा सैन्य कारबाहीका क्रममा सैनिकको घातक गतिविधिविरुद्ध दोषी ठहर गरेको दुर्लभ घटनामध्ये एक थियो। घटनाका बेला प्यालेस्टिनी तथा इजरायली अरब नागरिकबाट चक्कु प्रहार र सवारीसाधन प्रयोग गरी भएका आक्रमणका घटना बढिरहेका थिए। त्यही समयमा इजरायलमा अजारीयाको पक्षमा समेत प्रदर्शन भएका थिए।

प्यालेस्टिनी पक्ष तथा केही मानव अधिकार समूहले भने उनलाई दिइएको १८ महिनाको सजाय अत्यन्तै कम भएको बताएका थिए। अभियोजन पक्षले तीनदेखि पाँच वर्षसम्मको सजाय मागेको थियो।

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले अजारीयाको आपराधिक अभिलेख हटाउने निर्णयप्रति आफू ‘भावुक र खुसी’ भएको प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति हर्जोगको कार्यालयले भने माफी दिने निर्णयले घटनाको पुनर्मूल्यांकन नगरेको स्पष्ट पारेको छ।

अजारीयाको मुद्दाले इजरायलभित्र राजनीतिक दबाबसमेत सिर्जना गरेको थियो। घटनापछि तत्कालीन रक्षा मन्त्री मोसे यालोन र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच समेत मतभेद देखिएको थियो। यालोनले पछि रक्षा मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेतन्याहुले अजारीयालाई माफी दिनुपर्ने धारणा सार्वजनिक रूपमा राखेका थिए।

प्यालेस्टिनी कैदी मामिला हेर्ने तत्कालीन मन्त्री इसा कराकाले अजारीयालाई सुनाइएको सजायलाई ‘ठट्टा’को संज्ञा दिएका थिए।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply